बन्दीपुर केवलकार एण्ड टुरिजमको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आज (भदौ ११ गते) देखि आम सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारणलाई ४३ लाख ४१ हजार ८० कित्ता शेयर निष्काशन गरेको हो।

यस आईपीओमा भदौ १५ गतेसम्म आवेदन दिन सकिनेछ। आवेदकले न्यूनतम १० कित्ता देखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन्। आईपीओको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ।

यसअघि कम्पनीले आयोजना प्रभावित तनहुँ र गोरखा जिल्लाका स्थानीयवासी तथा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई आईपीओ निष्काशन गरिसकेको छ। नेपाल धितोपत्र बोर्डले असार १९ गते कम्पनीलाई आईपीओ जारी गर्न अनुमति दिएको थियो। बोर्डको अनुमति पश्चात कम्पनीले कुल ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो।

बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले तनहुँमा केवलकार तथा होटल संचालन गरिरहेको छ। कम्पनीले संचालनमा ल्याएको केवलकारमार्फत बन्दीपुर गाउँपालिका–४ डुम्रेबजार नजिकैको केबलकारचोकदेखि बन्दीपुर मन्दिरसम्मको १,७०० मिटर दूरी ७ मिनेटमै पार गर्न सकिन्छ।