काठमाडौँ । आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक २१ अंकले उकालो चढ्दै २,७६१ विन्दुमा पुगेको छ ।आज १७९ कम्पनीको शेयर मूल्य बढ्दा ७१ कम्पनीको घटेको छ । दिनभरिमा ३१७ कम्पनीका १ करोड ८ लाख ७७ हजार ९४२ कित्ता शेयर किनबेच भई ५ अर्ब ७५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको हो ।
सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनीको शेयरमा भएको छ, जसको कारोबार ७६ करोड ९६ लाख रुपैयाँ पुगेको छ । त्यसपछि हिमालयन रिइन्स्योरेन्सको २३ करोड ३९ लाख, हिमालयन डिष्टिलरीको २० करोड ६६ लाख र राधि विद्युत कम्पनीको १७ करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ ।
नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाई गरेका छन् । उनीहरूले ९.९९ प्रतिशतले कमाएका छन् । त्यस्तै, विकास हाइड्रोपावरका लगानीकर्ताले ९.९८ प्रतिशत र साना किसान विकास लघुवित्तका लगानीकर्ताले ५.२६ प्रतिशतले कमाएका छन् । तर आरबीबी म्युचुअल फन्ड १ का इकाईधनी भने सबैभन्दा बढी घाटामा परेका छन् । उनीहरूले ३.८७ प्रतिशतले गुमाएका हुन् ।