करिब डेढ लाख दर्शकको सहभागितासहित नाडा अटो शो २०२५ सम्पन्न

काठमाडौँ। पाँच दिनसम्म भव्य रूपमा सञ्चालन भएको नाडा अटो शो २०२५ आज औपचारिक रूपमा सम्पन्न भएको छ। आयोजकका अनुसार यसपटकको अटो शोले नेपाली अटोमोबाइल उद्योगलाई प्रविधिमैत्री दिशातर्फ अग्रसर गराउँदै ऐतिहासिक सफलता हासिल गरेको छ। भदौ ७ गतेसम्म मात्र १ लाख ४९ हजार ८८१ दर्शकले प्रदर्शनी स्थलमा प्रत्यक्ष अवलोकन गरेका थिए। यसले नेपाली जनसमुदाय विद्युतीय सवारीसाधन, स्मार्ट प्रविधि र दिगो मोबिलिटी समाधानप्रति बढ्दो आकर्षण रहेको पुष्टि गरेको छ।

समापनका दिनसम्म पनि प्रदर्शनीमा उच्चस्तरीय सहभागिता रह्यो। नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारी, तातोपानी भन्सार प्रमुख राजेन्द्रप्रसाद चुडाल, उद्योगी अरुणकुमार चौधरी, कलाकार सन्दिप क्षेत्रीसहितका विशिष्ट व्यक्तित्वहरूले अटो शो अवलोकन गरेका थिए।

नाडाले अटो शो अवधिभर विभिन्न अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको थियो। समापन दिन ‘सडक र यातायात’ विषयमा ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यमा छलफल भयो भने ‘मेड इन नेपाल’ विषयमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा विशेष सत्र सम्पन्न भएको थियो।

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्षले अटो शोले नेपालको अटोमोबाइल उद्योगलाई भविष्य–उन्मुख र नवप्रवर्तनशील बनाउने विश्वास थपेको बताए। व्यावसायिक सफलता मात्र होइन, सार्वजनिक सचेतना, प्रविधि पहुँच र वातावरणमैत्री सवारी विकल्पप्रति जनचासो अभूतपूर्व रूपमा बढाएको नाडा अटो शो २०२५ ले नेपाली अटो उद्योगको उज्ज्वल सम्भावना उजागर गरेको छ।