काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर बाँडफाँट गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ ल्याउन लागेको हो।
कम्पनीले ८३ करोड रुपैयाँ जारी पूँजीको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता शेयर निष्काशन गर्ने स्वीकृति पाएको थियो। यसअन्तर्गत ८ लाख ३० हजार ८२४ कित्ता स्थानीय बासिन्दालाई र २ लाख ७ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरी बाँडफाँट गरिसकेको छ। साथै १ लाख ३ हजार ७५० कित्ता सामूहिक लगानी कोषका लागि र ६२ हजार २५० कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ।
अब कम्पनीले सर्वसाधारणका लागि १७ करोड १ लाख ५० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १७ लाख १ हजार ५०० कित्ता साधारण शेयर भदौ १६ गतेदेखि निष्काशन गर्नेछ। सो आईपीओ छिटोमा भदौ १९ गते र ढिलोमा भदौ ३० गतेसम्म खुला रहनेछ। आवेदन न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म दिन सकिनेछ।
केयर रेटिङ नेपालले यस आईपीओलाई CARE-NP Single B Issuer Rating प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको देखाउँछ। कम्पनीले सञ्चालन गरेको १०.७० मेगावाटको माथिल्लो सानिगाड जलविद्युत आयोजना करिब ३ अर्ब २ करोड ३६ लाख रुपैयाँ लागतमा निर्माण भएको हो। यस आयोजनाको प्रतिमेगावाट लागत २८ करोड २५ लाख रुपैयाँ पर्छ। आयोजना सञ्चालन अनुमति अझै २६ वर्ष १० महिना बाँकी छ। साधारण लगानी फिर्ता हुने अवधि ९.८५ वर्ष र डिस्काउन्ट गरिएको लगानी फिर्ता हुने अवधि २२.२९ वर्ष रहने अनुमान छ।
यस आईपीओको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुका शाखाबाट वा मेरो शेयर अनलाइन सफ्टवेयरमार्फत आवेदन दिन सक्नेछन्।