काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडले निष्काशन गरेको साधारण शेयर (आईपीओ) आज आइतबार बाँडफाँड हुँदैछ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले भदौ ८ गते बिहान ९:३० बजे शेयर बाँडफाँड गर्ने जनाएको छ। कम्पनीले साउन २६ देखि २९ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ४८ हजार ९ सय ४ कित्ता शेयर निष्काशन गरेको थियो। यस आईपीओबाट करिब १ लाख २४ हजार ८ सय ९२ जना सफल हुनेछन्।
यसअघि कम्पनीले संखुवासभा जिल्लाका आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बाँडफाँड गरिसकेको छ। माबिलुङ्ग इनर्जीमा हाल एशियन लाइफ इन्स्योरेन्सको २५ प्रतिशत, गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्सको २० प्रतिशत र राजेश लाल श्रेष्ठको ११ प्रतिशत लगानी छ। तर, आईपीओ निष्काशनपछि यी संस्थागत तथा व्यक्तिगत लगानीकर्ताको स्वामित्वमा कमी आउनेछ।
कम्पनीले संखुवासभामा ४.९५ मेगावाट क्षमताको अपर पिलुवाखोला–३ जलविद्युत आयोजना निर्माण गरिरहेको छ।