नुवाकोट । नुवाकोटको ऐतिहासिक एवं धार्मिक महत्त्व बोकेको दुप्चेश्वर महादेव मन्दिरमा आर्थिक वर्ष २०८१/८२ मा भक्तजनहरूले चढाएको भेटीबाट कुल रु. १ करोड ४४ लाख ८० हजार संकलन भएको छ । दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठका अनुसार सो रकममध्ये रु. ३२ लाख २१ हजार खर्च गरिएको छ ।
कोषले हरेक वर्ष आम्दानी तथा खर्च विवरण सार्वजनिक गर्दै आएको छ । भेटीको गणना हरेक दिन साँझ मन्दिर परिसरमै सिसिटिभीको निगरानीमा हुने प्रबन्ध गाउँपालिकाले मिलाएको हो ।गत साउन महिनामात्रै करिब ५० हजार भक्तजनले दर्शन गरेको मन्दिरमा रु. ३१ लाख ८३ हजार बराबरको भेटी संकलन भएको थियो ।
पौराणिक कथनअनुसार करिब ४०० वर्षअघि एक तामाङको दुहुनो गाई हराएर खोज्दा पहरोमा दूध चढाइरहेको देखिएपछि उक्त स्थानलाई दुग्धेश्वर महादेव मानेर पूजा आरम्भ गरिएको थियो । आजसम्म ‘भक्तजनको मनोकामना पूरा गर्ने भगवान्’ को रूपमा दुप्चेश्वर महादेवमा श्रद्धा र आस्था बढ्दो छ ।
पुजारी धितालका अनुसार यहाँ पूजा गरेपछि सन्तान प्राप्त हुने, बोली नफुटेका बालबालिकाले बोल्न थाल्ने तथा नब्याएका गाईभैँसीको दाम्लो चढाएमा ब्याउने विश्वास रहिआएको छ । मनोकामना पूरा भएपछि भक्तजनहरू पुनः दर्शन गर्न फर्किने परम्परा अझै बलियो छ ।