माबिलुङ एनर्जीको आईपीओ बाँडफाँड कहिले ?

काठमाडौँ । माबिलुङ इनर्जी लिमिटेडले निष्काशन गरेको साधारण शेयर (आईपीओ) अर्को सातामात्र बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार प्राप्त आवेदनमध्ये डुप्लिकेट भेरिफिकेशनको काम भइरहेकोले बाँडफाँड ढिलाइ भएको हो।

क्यापिटलले भोलि (बिहीबार) प्रि–अलोटमेन्ट गर्ने तयारी गरेको छ। योजना अनुसार काम पूरा भए आगामी आइतबार शेयर बाँडफाँड गर्ने बताइएको छ। तर, सफ्टवेयरमा समस्या आएमा १–२ दिन ढिलो हुन सक्ने सम्भावना क्यापिटलले जनाएको छ।

कम्पनीले साउन २६ देखि २९ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ४८ हजार ९ सय ४ कित्ता शेयर निष्काशन गरेको थियो। यसअघि कम्पनीले संखुवासभाका आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका श्रम स्वीकृति प्राप्त नेपालीलाई आईपीओ बाँडफाँड गरिसकेको छ।

माबिलुङ इनर्जीमा एशियन लाइफ इन्स्योरेन्सको २५ प्रतिशत, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको २० प्रतिशत र राजेश लाल श्रेष्ठको ११ प्रतिशत लगानी रहेको छ। आईपीओ निष्काशनपछि उनीहरूको स्वामित्व घट्नेछ। कम्पनीले संखुवासभामा ४.९५ मेगावाट क्षमताको अपर पिलुवाखोला–३ जलविद्युत आयोजना निर्माण गरिरहेको छ।