काठमाडौं । दार्चुला पावर लिमिटेडले आफ्नो जारी पूँजीको २० प्रतिशतबराबर ३० लाख कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्ने भएको छ । कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
सम्झौतापत्रमा दार्चुला पावर लिमिटेडका अध्यक्ष सतीस न्यौपाने र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । कम्पनीले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका दरले शेयर निष्काशन गर्नेछ, जसको कुल मूल्य ३० करोड रुपैयाँ हुनेछ ।
दार्चुला पावर लिमिटेडले दार्चुला जिल्लाको मार्मा गाउँपालिकास्थित चमेलिया खोलामा आधारित २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । रन–अफ–रिभर प्रकारको यो आयोजना आगामी डेढ वर्षभित्र निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य कम्पनीले लिएको छ ।
यस आयोजनाको प्रमुख प्रवर्द्धक तथा लगानीकर्ता अपि पावर कम्पनी लिमिटेड हो । विद्युत् क्षेत्रमा स्थापित अपि पावरले यस आयोजनामा मुख्य शेयर स्वामित्व लिएको छ र आवश्यक स्वपूँजी लगानी गर्नेछ ।