काठमाडौं । भैरहवामा अवस्थित पर्यटकीय होटल एशियन होटलले व्यवसाय विस्तार र पूर्वाधार विकासका लागि सर्वसाधारणलाई लक्षित गर्दै ३५ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। प्रति कित्ता १०० रुपैयाँका दरले जारी हुने यस शेयरबाट होटलले कुल ३५ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ।
संकलित पूँजी होटललाई पाँचतारे सुविधामा स्तरोन्नति गर्न, स्पोर्ट्स कम्प्लेक्स र हेल्थ फिटनेस सेन्टरजस्ता पूर्वाधार निर्माण गर्न प्रयोग गरिनेछ। आईपीओ निष्कासन प्रक्रिया सहज र पारदर्शी बनाउन मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ। यसबारे आयोजित औपचारिक कार्यक्रममा एशियन होटलका अध्यक्ष पारस अधिकारी र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।
सन् २०२१ मा स्थापना भएको एशियन होटलले बौद्ध दर्शन र सांस्कृतिक धरोहरबाट प्रेरित आतिथ्य सेवा प्रदान गर्दै आएको छ। लुम्बिनी क्षेत्रको ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्वलाई आत्मसात गर्दै होटलले छोटो समयमा नै उत्कृष्ट सेवा र वातावरणका कारण छुट्टै पहिचान बनाएको छ।
हाल होटलमा ६६ आधुनिक कोठा, स्पा, फिटनेस सेन्टर, क्यासिनो, बन्क्वेट हल, बाह्य बगैंचा, सेमिनार तथा कन्फरेन्स हल, र डेस्टिनेशन वेडिङका सुविधा उपलब्ध छन्। लुम्बिनी, जुन युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत सिद्धार्थ गौतम बुद्धको जन्मस्थल हो, हरेक वर्ष लाखौं पर्यटकलाई आकर्षित गर्छ, र एशियन होटलले यिनै आगन्तुकका लागि सांस्कृतिक संवेदनशीलता र आधुनिक आतिथ्यको संयोजन प्रस्तुत गर्दै आएको छ।
आईपीओ पश्चात् होटलले पोखरा, काठमाडौं र चितवनजस्ता प्रमुख शहरमा सेवा विस्तार गर्ने योजना सार्वजनिक गरेको छ। होटलका अध्यक्षका अनुसार, यस विस्तारले स्थानीय रोजगारी सिर्जना गर्नुका साथै लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनमा पनि उल्लेखनीय योगदान पुर्याउने अपेक्षा गरिएको छ।