नेपाल बैंकको नाफा १३१७५ प्रतिशतले उछाल, लाभांश भने नपाउने

काठमाडौं । नेपाल बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार, बैंकले उक्त आर्थिक वर्षमा ३ अर्ब ७७ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३१७५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यसै अवधिमा बैंकको नाफा मात्र २ करोड ८४ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १६.८२ प्रतिशतले बढेर १० अर्ब ८ करोड पुगेको छ। त्यस्तै, सम्भावित जोखिमका लागि छुट्याइने इम्पेयरमेन्ट चार्ज ४ अर्ब ७५ करोडबाट घटेर १ अर्ब १३ करोडमा सीमित भएको छ। इम्पेयरमेन्ट चार्जमा कमी र ब्याज आम्दानीमा वृद्धि नै नाफा बढ्नुको प्रमुख कारण भएको बैंकले जनाएको छ।

यस अवधिमा बैंकको सञ्चालन नाफा ६९२.४३ प्रतिशतले बढेर ५ अर्ब ४१ करोड पुगेको छ। तर, वितरणयोग्य नाफा ४४ करोड ९० लाख रुपैयाँ ऋणात्मक रहेकाले बैंकले लाभांश वितरण गर्न नसक्ने अवस्था छ।

नेपाल बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड रुपैयाँ, रिजर्भ २३ अर्ब ९३ करोड, निक्षेप संकलन ३ खर्ब ३२ अर्ब र कर्जा लगानी २ खर्ब २१ अर्ब रहेको छ। समीक्षा अवधिमा बैंकको प्रति शेयर आम्दानी २५.६८ रुपैयाँ, प्रति शेयर नेटवर्थ २५९.८१ रुपैयाँ र खराब कर्जा दर ४.४७ प्रतिशत रहेको छ।