काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को सञ्चालकमा हेमराज ढकाल नियुक्त भएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो प्रतिनिधि रूपमा उपाध्यक्ष ढकाललाई सेबोनको सञ्चालक समितिमा पठाएको हो।
केही दिनअघि महासंघले उनलाई सेबोनमा सञ्चालक बनाउने निर्णय गरेको भए पनि, ढकाल बाहिर भएका कारण बुधबार मात्रै औपचारिक रूपमा नियुक्ति भएको हो। नवनियुक्त सञ्चालक ढकाललाई बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन्। यसअघि महासंघबाट महानिर्देशक गोकर्णराज अवस्थि सेबोनको सञ्चालक थिए। केही समयअघि उनलाई फिर्ता बोलाएपछि उक्त पद रिक्त भएको थियो।
ढकाल, जो महासंघको वस्तुगततर्फका उपाध्यक्ष हुन्, आफ्नो क्षमता र सामर्थ्य अनुसार सेबोनको सञ्चालकका रूपमा मुलुकको पूँजी बजारको विकासमा योगदान दिने प्रतिवद्धता व्यक्त गरेका छन्।