सागर डिष्टिलरीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गर्यो

काठमाडौँ । सागर डिष्टिलरी लिमिटेडले आज साउन २८ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको छ। यस चरणमा कम्पनीले १ लाख ४५ हजार २ सय कित्ता साधारण शेयर निष्काशन गरेको छ, जसका लागि भदौ १ गतेसम्म आवेदन दिन सकिनेछ। आवेदकले न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्ताको लागि आवेदन दिन पाउने छन्। मुक्तिनाथ क्यापिटल यस आईपीओको बिक्री प्रबन्धक हो।

नेपाल धितोपत्र बोर्डले साउन १२ गते कम्पनीलाई आईपीओ निष्काशन अनुमति दिएको हो। कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात् १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता शेयर सार्वजनिक गर्नेछ।

वि.सं. २०६९ मा स्थापना भएको सागर डिष्टिलरी लिमिटेडको फ्याक्ट्री देवचुली, नवलपुरमा अवस्थित छ। कम्पनीले Royal Blue, Grey Wolf, Berries & Blues लगायतका मदिराजन्य उत्पादनसँगै ‘नेप्से बुल्स’ र ‘द गभर्नर’ नामक प्रिमियम व्हिस्की उत्पादन गर्दै आएको छ। कम्पनीकी अध्यक्ष अल्का गोयल हुन् भने अन्य सञ्चालकमा आशुतोष खेतान, राजीव प्याकुरेल, र रतन कुमार चौधरी रहेका छन्। ज्योति दाहाल स्वतन्त्र सञ्चालकको रूपमा कार्यरत छन्।