ग्लोबल आइएमई बैंकको वितरणयोग्य मुनाफा बढ्यो, लाभांश क्षमता १४.११ प्रतिशत

काठमाडौँ । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकले समीक्षा अवधिमा ६ अर्ब २० करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.१० प्रतिशतले वृद्धि हो। अघिल्लो वर्ष यस अवधिमा खुद नाफा ६ अर्ब १३ करोड ७४ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा खुद ब्याज आम्दानी ०.८५ प्रतिशतले घटेर १६ अर्ब ७१ करोड कायम भए पनि, खुद फि तथा कमिशन आम्दानी २०.१२ प्रतिशतले बढेर ३ अर्ब २२ करोड पुगेको छ। कुल सञ्चालन आम्दानी ३.०१ प्रतिशतले बढ्दै २१ अर्ब २७ करोड पुगेको छ। यस अवधिमा सम्भावित जोखिमका लागि छुट्याइएको इम्पेयरमेन्ट चार्ज ३ अर्ब ६१ करोडबाट बढेर ४ अर्ब ३० करोड पुगेको छ।

बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब ३७ करोड ९३ लाख पुगेको छ, जसअनुसार वितरणयोग्य प्रति शेयर आम्दानी १४.११ रुपैयाँ र लाभांश क्षमता १४.११ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्षमा वितरणयोग्य मुनाफा ऋणात्मक थियो।

बैंकको चुक्ता पूंजी ३८ अर्ब ११ करोड र रिजर्भमा २४ अर्ब २१ करोड रहेको छ। यस अवधिसम्ममा ५ खर्ब ५० अर्ब निक्षेप संकलन र ४ खर्ब ११ अर्ब कर्जा लगानी गरिएको छ। प्रति शेयर आम्दानी (EPS) १६.२८ रुपैयाँ, प्रति शेयर नेटवर्थ १७७.६३ रुपैयाँ र खराब कर्जा अनुपात ४.८७ प्रतिशत रहेको छ।