चिलिमे हाइड्रोको विद्युत बिक्री आम्दानी र नाफा सामान्य वृद्धि, ईपिएसमा कमी

काठमाडौँ । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.८१ प्रतिशतले वृद्धि भई १ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। गत वर्ष यस्तै आम्दानी १ अर्ब ११ करोड रुपैयाँ थियो।

विद्युत बिक्री आम्दानी सामान्य बढेसँगै कम्पनीको खुद नाफा पनि ०.१६ प्रतिशतले बढेर ६७ करोड ९५ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कुल नाफा १.४४ प्रतिशत, सञ्चालन मुनाफा ३.६१ प्रतिशतले बढेको भए पनि वित्तीय आम्दानी भने १६.७० प्रतिशतले घटेको छ।

नाफा बढेपनि प्रतिशेयर आम्दानी (EPS) भने ७६ पैसा घटेर ७ रुपैयाँ ७४ पैसामा सीमित भएको छ। असार मसान्तसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ५९ पैसा र मूल्य–आम्दानी अनुपात (P/E ratio) ६०.७ गुणा रहेको छ। ८ अर्ब ७८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग २ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ।