एनएमबि बैंकको खुद  नाफा ४६% बढ्यो, इम्पेयरमेन्ट चार्ज घट्दा नतिजा सकारात्मक

 काठमाडौँ । एनएमबि बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म ३ अर्ब २८ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४६.२२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यस अवधिमा बैंकको खुद नाफा २ अर्ब २४ करोड रुपैयाँ थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.१४ प्रतिशतले बढेर ८ अर्ब २ करोड रुपैयाँ पुगेको छ। साथै, सम्भावित जोखिमका लागि छुट्याइएको इम्पेयरमेन्ट चार्ज २ अर्ब ३ करोडबाट घटेर ९५ करोड ८० लाखमा सीमित भएको छ। इम्पेयरमेन्ट चार्जमा आएको कमी र ब्याज आम्दानीको वृद्धि नाफा वृद्धिको मुख्य कारण बनेको छ।

यस अवधिमा बैंकको सञ्चालन नाफा ६४.४६ प्रतिशतले बढेर ५ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ। वितरणयोग्य मुनाफा १ अर्ब ९० करोड ९४ लाख पुगेको छ भने वितरणयोग्य प्रति शेयर आम्दानी १०.४१ रुपैयाँ छ, जसले लाभांश क्षमता १०.४१ प्रतिशत देखाउँछ। अघिल्लो वर्ष बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक थियो।

बैंकको चुक्ता पूँजी १८ अर्ब ३३ करोड र रिजर्भ १२ अर्ब ३२ करोड रुपैयाँ रहेको छ। यस अवधिसम्म बैंकले २ खर्ब ८० अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। प्रति शेयर आम्दानी (EPS) १७.९० रुपैयाँ र प्रति शेयर नेटवर्थ १८०.६८ रुपैयाँ रहेको छ। बैंकको खराब कर्जा दर ३.७२ प्रतिशत छ।