बुङ्गल हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

 काठमाडौँ । बुङ्गल हाइड्रो लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि असार २९ गतेदेखि खुला गरेको आईपीओमा आवेदन दिने आज (साउन २६ गते) अन्तिम दिन हो। कम्पनीले ८३ करोड रुपैयाँको जारी पूँजीमध्ये ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरका २९ लाख ५ हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको छ।

यसअन्तर्गत ८ करोड ३० लाख रुपैयाँ बराबरका ८ लाख ३० हजार ८२४ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ। उक्त सेयरमध्ये ६५ प्रतिशत सुदूरपश्चिम प्रदेशको बझाङ जिल्ला, बुङ्गल नगरपालिका वडा नं. ६ का अति प्रभावित बासिन्दालाई, र बाँकी ३५ प्रतिशत बुङ्गल नगरपालिका वडा नं. १, २, ३, ४, ५, ८, ९, १० र ११ का सामान्य प्रभावित बासिन्दालाई बाँडफाँट गरिनेछ।

आवेदन न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म गर्न सकिनेछ। केयर रेटिङ नेपालले कम्पनीलाई ‘CARE-NP Single B Issuer Rating’ प्रदान गरेको छ, जसले औसत जोखिम संकेत गर्दछ। बुङ्गल हाइड्रोले सञ्चालन गरेको १०.७० मेगावाटको माथिल्लो सानिगाड जलविद्युत आयोजनाको कुल लागत ३ अर्ब २ करोड रुपैयाँभन्दा बढी रहेको छ। प्रतिमेगावाट लागत २८ करोड २५ लाख रुपैयाँ छ। विद्युत अनुमतिपत्र २६ वर्ष १० महिना बाँकी छ भने लगानी फिर्ता हुने अवधि साधारण हिसाबमा ९.८५ वर्ष र डिस्काउण्टमा २२.२९ वर्ष हुने अनुमान छ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड हो। आवेदन नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (केदारस्यू–१), कृषि विकास बैंक (बुङ्गल नगरपालिका), ग्लोबल आइएमई बैंक (जयपृथ्वी नगरपालिका) र आयोजनास्थलबाट दिन सकिन्छ। दरखास्त फारामका लागि २ रुपैयाँ शुल्क लाग्नेछ।