नेपालगन्ज–दिल्ली सिधा उडानका लागि प्रभावकारी पहल गर्न ढकालको आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालगन्ज–दिल्ली सिधा हवाई उडानका लागि तत्काल र प्रभावकारी पहल गर्न सरकारलाई आग्रह गरेका छन्।

सोमबार काठमाडौँमा नेपाल उद्योग वाणिज्य संघ बाँकेको आयोजना तथा महासंघको सहकार्यमा आयोजित सर्वपक्षीय छलफल कार्यक्रममा बोल्दै उनले यस्तो उडान सञ्चालन हुन सके पश्चिम नेपालको पर्यटन, कृषि तथा आर्थिक विकासमा ठूलो फड्को मार्न सकिने बताए।

उनका अनुसार नेपालगन्ज–दिल्ली उडानले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको विकासमा प्रत्यक्ष प्रभाव पार्नेछ। यस विषयलाई प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा प्राथमिकताका साथ राख्न महासंघले आग्रह गर्ने उनको भनाइ थियो।

ढकालले नेपालगन्जलाई पश्चिम नेपालको प्रवेशद्वारका रूपमा विकास गर्न सकिने उल्लेख गर्दै, सीमा नजिक भएकाले विवाह तथा अन्य कार्यक्रमका लागि ठूलो सम्भावना रहेको बताए। साथै, बनेका विमानस्थलहरूलाई प्रभावकारी सञ्चालन गर्न आवश्यकतामा पनि उनले जोड दिए।

देशको आर्थिक विकासका लागि निजी क्षेत्रको ठूलो लगानी भइसकेको स्मरण गराउँदै उनले लगानीमैत्री वातावरण निर्माणका लागि महासंघको पहलमा ३० भन्दा बढी कानुन संशोधन भएको जानकारी दिए। उनले आन्तरिक पूँजीबाट पनि पूर्वाधार विकास सम्भव रहेको उल्लेख गर्दै १० अर्ब रुपैयाँ पूँजीको नेपाल पब्लिक लिमिटेड कम्पनी स्थापना गरी काम सुरु भइसकेको बताए।

कार्यक्रममा पूर्वमन्त्री, सांसद, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, पर्यटन व्यवसायी, पत्रकार तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।