काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८०/८१ का लागि १८ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ। कम्पनीको २९औं वार्षिक साधारणसभाले प्रस्तावित लाभांश पारित गर्दै यस कदमले बीमा क्षेत्रमा सकारात्मक सन्देश दिने र लगानीकर्ताको विश्वास अझ मजबुत बनाउने अपेक्षा व्यक्त गरेको छ। आर्थिक तथा बजारको प्रतिकूल परिस्थितिमा पनि उच्चतम नाफा आर्जन गर्न सफल भएको कम्पनीले सेयरधनीलाई आकर्षक प्रतिफल प्रदान गरेको अध्यक्ष राजेन्द्र मल्लले बताए।
अध्यक्ष मल्लका अनुसार प्रभु इन्स्योरेन्सले नियमनकारी निकायको पूर्ण पालना गर्दै आन्तरिक सुशासन मजबुत बनाउन नीतिगत सुधार र दीर्घकालीन रणनीतिक योजना अगाडि बढाइरहेको छ। अत्याधुनिक डिजिटल ट्रान्सफर्मेशन प्रविधि लागू गर्दै कम्पनीले दाबी भुक्तानी, पोलिसी नवीकरण र अन्य बीमा सेवाहरूलाई छरितो र प्रभावकारी बनाएको छ। “ग्राहकको सन्तुष्टि नै व्यवसायिक संस्थाको वास्तविक सफलता हो,” मल्लले भने।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रभु इन्स्योरेन्सले स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण र विपद् व्यवस्थापनजस्ता क्षेत्रमा सक्रिय योगदान दिँदै आएको छ। कम्पनीले समुदायको दिगो विकासमा प्रत्यक्ष प्रभाव पार्ने कार्यलाई प्राथमिकता दिँदै समाजसँगको सहकार्यलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ।