नेपाल–स्पेन व्यापारिक सहकार्यमा समझदारीपत्रको तयारी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) का अध्यक्ष चन्द्रप्रसाद ढकाल र स्पेन चेम्बर अफ कमर्सकी कार्यकारी प्रमुख इमाकुलाडा रियरा रेनेबीच महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भएको छ। भेटमा दुई देशबीचको आर्थिक सहकार्य, व्यापार, लगानी, साना तथा मझौला उद्यम (SMEs) र दीर्घकालीन साझेदारीका सम्भावनाबारे छलफल भएको थियो। अध्यक्ष ढकालले निजी क्षेत्रमार्फत नेपाल–स्पेन सम्बन्ध अझ मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याउँदै प्रविधि, पुँजी र अनुभव भित्र्याउन स्पेनसँग सहकार्य गर्न निजी क्षेत्र तयार रहेको बताए।

भेटमा अध्यक्ष ढकालले स्पेन चेम्बर अफ कमर्ससँगको प्रस्तावित समझदारीपत्रको प्रारम्भिक मस्यौदा प्रति आभार व्यक्त गर्दै यसले साझा दृष्टिकोण र दीर्घकालीन सम्बन्धका लागि आधारशिला बन्ने विश्वास व्यक्त गरे। उनले व्यापार प्रवद्र्धन, लगानी, बजारसम्बन्धी जानकारी आदानप्रदान, प्रतिनिधिमण्डलको सहयोग, तथा SMEs बीच सहकार्यजस्ता व्यावहारिक पक्षलाई सकारात्मक भन्दै समझदारीपत्र छिट्टै हस्ताक्षर गर्ने प्रतिबद्धता जनाए। साथै, यसले स्पेनलाई युरोप प्रवेशको ढोका र नेपाललाई स्पेनिश लगानीको आकर्षक गन्तव्य बनाउने उल्लेख गरे।

स्पेन चेम्बर अफ कमर्सकी कार्यकारी प्रमुख रियराले नेपालमा पर्यटन, प्रविधि, कृषि, नवीकरणीय ऊर्जा र पूर्वाधार क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको बताउँदै व्यापारिक सहकार्य सशक्त बनाउन इच्छुक रहेको धारणा राखिन्। दुवै पक्षले आपसी आर्थिक सम्बन्धलाई थप गहिरो बनाउन संयुक्त पहल आवश्यक रहेको र साझा कार्यक्रम तथा सहकार्यबाट व्यवसायिक समुदाय लाभान्वित हुने विश्वास व्यक्त गरे। भेटमा महासंघका पूर्व अध्यक्ष चन्डिराज ढकाल र कोषाध्यक्ष भरतराज आचार्यको पनि सहभागिता रहेको थियो।