काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन सबै मन्त्रालयलाई स्पष्ट कार्ययोजना र समय तालिका बनाएर अघि बढ्न निर्देशन दिएका छन्।
अर्थ मन्त्रालयमा आज बसेको उच्चस्तरीय बैठकमा अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयनमा समयमै कदम चाल्न र त्यसको प्रत्यक्ष परिणाम देखिने गरी काम गर्न सम्बन्धित सचिवहरूलाई निर्देशन दिए। उनले अर्थ मन्त्रालय बजेट कार्यान्वयनका लागि आवश्यक सम्पूर्ण सहयोग गर्न तयार रहेको स्पष्ट पारे।
बैठकमा उनले विद्यमान कानुनको दायराभित्र रहेर गैरकर राजस्वको अधिकतम स्रोत पहिचान गर्नुपर्ने आवश्यकता औँल्याए। आर्थिक वर्ष २०८१/८२ मा गैरकर राजस्वका शीर्षकमा १ खर्ब २८ अर्ब रुपैयाँ संकलन भएको थियो, जुन कुल राजस्वको १०.९ प्रतिशत हो।
बैठकमा गैरकर राजस्व वृद्धि गर्न सकिने थप सम्भावनाहरूको पहिचान गरी कार्यान्वयन रणनीति तयार गर्ने विषयमा पनि छलफल भएको थियो। बैठकमा अर्थ सचिव, राजस्व सचिवसहित विभिन्न मन्त्रालयका सचिवहरूको उपस्थिति रहेको थियो।