काठमाडौं । नेपाल राष्ट्र बैंकका निर्देशक अनुज दहाल कार्यकारी निर्देशकमा बढुवा भएका छन्। राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागले दहाललाई कार्यकारी निर्देशकमा बढुवा गरिएको जानकारी दिएको हो।
बढुवापछि दहाललाई संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागको जिम्मेवारी दिइएको छ। उनले यसअघि वित्तीय संस्था सुपरिवेक्षण विभागमा रहेर विभिन्न नियामकीय कार्यहरूमा अनुभव हासिल गरिसकेका छन्। राष्ट्र बैंकभित्र दहाल जिम्मेवार, अनुशासित र दक्ष अधिकृतका रूपमा परिचित छन्।
उता, हालसम्म संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागको नेतृत्व गर्दै आएका ऋषिकेश भट्टलाई अब वित्त व्यवस्थापन विभागमा सरुवा गरिएको छ। दुवै व्यवस्थापन तहमा भएका यी जिम्मेवारी फेरबदलले राष्ट्र बैंकको नीतिगत तथा प्रशासनिक कार्यसञ्चालनमा नयाँ दिशा दिने अपेक्षा गरिएको छ।