असोज १ देखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य, चालक अनुमतिपत्र छपाइ पनि तीव्र बनाउने निर्णय

काठमाडौं । अब सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकले आगामी २०८२ साल असोज १ गतेदेखि यो व्यवस्था लागू गर्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी संघीय, प्रदेश र स्थानीय तहका मन्त्री तथा सचिवहरूले सवारी दर्ता, नामसारी र नवीकरणका क्रममा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न यातायात व्यवस्था कार्यालयहरूलाई निर्देशन दिने निर्णय गरेका छन् । सो कार्यान्वयनका लागि विभागले प्राविधिक सहयोग उपलब्ध गराउनेछ भने ट्राफिक प्रहरी परिचालन गर्न गृह मन्त्रालयसँग समन्वय गरिनेछ ।

यस्तै, सुरक्षा मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबीच भएको सहमति अनुसार सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्य भदौ मसान्तभित्र प्रारम्भ गर्न अनुरोध गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशले लाइसेन्स छपाइका लागि आवश्यक खरिद प्रक्रिया अघि बढाइसकेका कारण ती प्रदेशहरूमा लाइसेन्स छपाइ तत्काल सुरु गर्न केन्द्रलाई अनुमति दिन पनि भनिएको छ ।

बैठकले चालक अनुमतिपत्रलाई १० वर्षे अवधिको बनाउन, राजस्वमा एकरुपता ल्याउन, भुक्तानी प्रणाली विद्युतीय बनाउने, सफ्टवेयर प्रणालीलाई चुस्त बनाउने, तथ्याङ्क डिजिटाइज गर्ने तथा बेरुजू फस्र्यौट प्रभावकारी बनाउने निर्णय पनि गरेको छ । साथै, राइड सेयरिङ सेवा सञ्चालनका लागि एकरूपता कायम गरी स्पष्ट मापदण्ड लागू गर्ने निर्णय गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहालले संघीयता कार्यान्वयन प्रभावकारी बनाउन तीनै तहबीच सहकार्य अपरिहार्य भएको बताए । उनले समितिका निर्णयहरू मार्फत नागरिकलाई छरितो सेवा प्रदान गर्न सकिने धारणा राखे ।


मन्त्रालयका सचिव केशवकुमार शर्माले बैठकबाट विगतका निर्णयहरूको समीक्षा गरी आगामी स्पष्ट कार्यदिशा तय गरिएको जानकारी दिए । बैठकमा संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।