नेपाल अटोमोबाइल इमपोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन द्वारा आयोजना हुन लागेको “नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५” आजबाट सुरु हुँदैछ । साउन २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा आयोजना हुने यस एक्स्पोमा ५० भन्दा बढी ब्राण्डको सहभागिता रहने नाइमाले जनाएको छ ।
एक्स्पोको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्नेछन् । नाइमाका अनुसार १५ दुईपाङ्ग्रे, १५ चारपाङ्ग्रे र ५ व्यवसायिक नयाँ सवारीसाधनहरु सार्वजनिक गरिने यस प्रदर्शनी स्थलमा अपांगमैत्री संरचना, सुधारिएको ढल निकास व्यवस्था र सुरक्षा तथा आपतकालीन सेवाको समुचित व्यवस्था मिलाइएको छ ।
प्रदर्शनी केन्द्र निर्माणको कार्यमा व्यस्त मिडिया स्पेस सोलुसनस्का संस्थापक श्रीजल भट्टराई भन्छन्, “यो पालीको एक्स्पोमा उपभोक्ताहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न हामीले नेपालमै पहिलो पटक डबल प्लाई सहितको अन्र्तराष्ट्रिय सत्रको संरचना निर्माण गरेका छौँ ।”
प्रदर्शनीको प्रवेश टिकट खल्ती बाई आईएमई एपमार्फत अग्रिम खरिद गर्न सकिन्छ । यसका साथै सधैंभरी पार्किङ्ग समस्याले सताउने प्रदर्शनी स्थलमा यस पटक भने पार्किङ्ग व्यवस्थाको लागि नाइमाले पठाओसँगको सहकार्यमा भृकुटीमण्डम गन्तव्य हुने राईडहरुमा ३० प्रतिशत सम्मको छुट व्यवस्था गरेको छ । यो एक्स्पो नेपालमा हालसम्मकै सबैभन्दा ठूलो र प्रभावकारी अटोमोबाइल प्रदर्शनी हुने अपेक्षा नाइमाको छ ।