काठमाडौं । एनआईसी एशिया बैंक र फ्रन्टलाइन हस्पिटलबीच भएको सहकार्यअनुसार बैंकका ग्राहकहरूले फ्रन्टलाइन हस्पिटलमा उपलब्ध सेवा उपयोग गर्दा विशेष छुट पाउने भएका छन्। सहमतिअनुसार, डिजिटल माध्यमबाट भुक्तानी गर्दा ग्राहकहरूले १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
सम्झौतापत्रमा बैंकका डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र फ्रन्टलाइन हस्पिटलका क्लिनिकल प्रेसिडेन्ट डा. योगेश न्यौपानेले हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार एनआईसी एशिया बैंकका ग्राहकले पुरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा सेवा लिँदा छुट प्राप्त गर्न डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एप प्रयोग गर्नुपर्नेछ।
बैंकले यस सहकार्यले ग्राहकलाई स्वास्थ्य सेवामा सहजता दिने मात्र होइन, डिजिटल भुक्तानी संस्कृतिको प्रवर्द्धनमा समेत योगदान पुर्याउने विश्वास लिएको छ। नगदरहित कारोबारलाई प्रोत्साहन गर्दै डिजिटल इकोसिस्टम सुदृढ पार्ने उद्देश्यसहित गरिएको यो सहकार्यले ग्राहक सेवामा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।
फ्रन्टलाइन हस्पिटल काठमाडौं उपत्यकामा स्वास्थ्य उपचारका क्षेत्रमा सक्रिय रहँदै आएको छ भने एनआईसी एशिया बैंक डिजिटल बैंकिङ क्षेत्रमा अग्रणी मानिन्छ। दुबै संस्थाले यो साझेदारीबाट सेवाग्राही प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गरेका छन्।