एक वर्षमा ८ लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा, सीपविहीन श्रमिकको संख्या उच्च

काठमाडौं । वैदेशिक रोजगार विभागको पछिल्लो तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्रै ८ लाख ३९ हजार २ सय ६६ नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। यो संख्या श्रमिक पलायन अझै तीव्र गतिमा जारी रहेको संकेत हो। तथ्यांक अनुसार विदेशिने श्रमिकमध्ये उल्लेख्य संख्या सीपविहीन अर्थात् अदक्ष श्रमिकको रहेको छ। एक वर्षमै २ लाख ७ हजारभन्दा बढी नेपाली कुनै सीप बिना विदेशिएका छन्, जसमा २ लाख २ जना पुरुष र २४ हजारभन्दा बढी महिला छन्।

यद्यपि, तालिम लिएर विदेशिनेको संख्या पनि उल्लेखनीय छ। गत आर्थिक वर्षमा ५ लाख ६ हजारभन्दा बढी नेपालीले सीपमूलक तालिम लिएर वैदेशिक रोजगारीमा गएका छन्। तीमध्ये ४ लाख ४७ हजारभन्दा बढी पुरुष र ५९ हजार ७ सय ५४ महिला रहेका छन्।सीपका आधारमा वर्गीकरण गर्दा अर्धदक्ष श्रमिक ९९ हजार ७ सय २३ जना, व्यावसायिक श्रमिक ४ हजार ३ सय ७२ जना र दक्ष श्रमिक भने केवल ९ सय ३७ जना मात्र रहेका छन्।

पछिल्लो वर्ष नेपाली श्रमिकहरू १५१ देशमा वैधानिक रूपमा गएका छन्। मुख्य गन्तव्यहरूमा यूएई, साउदी अरब, कतार, कुवेत र मलेसिया छन् भने १२ देशमा एक–एक जना मात्र नेपाली गएका छन्। यता, विदेश गएका नेपालीको संख्या भए पनि फर्किएर आउने वा स्थायी बसोबास गर्नेहरूको तथ्यांक भने अझै छैन। हाल खाडी मुलुकहरू मात्र नभई युरोपेली देशहरूमा समेत नेपाली श्रमिकको आकर्षण बढेको देखिन्छ।

वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिटेन्स अर्थतन्त्रको मेरुदण्ड बनेको अवस्थामा देशले सीपयुक्त जनशक्ति गुमाउँदै गएको अवस्था चिन्ताजनक बनिरहेको छ। सरकारले लामो समयदेखि ‘तालिम दिएर पठाउने’ नीति ल्याए पनि कार्यान्वयन पक्ष कमजोर रहेको तथ्यांकले देखाएको छ। यही कारणले देशभित्र रोजगारीको अवसरको अभाव र सीप अभिवृद्धिमा कमजोरीका कारण अबको भविष्यप्रति गम्भीर प्रश्न खडा भएको छ।