काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन नेपाल (नाडा) का अध्यक्ष करण चौधरीले आगामी नाडा अटो शो २०२५ लाई प्रविधि, संस्कृति र अटोमोबाइलको नवीन संयोजनका रूपमा प्रस्तुत गरिने बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष चौधरीले नेपाली अटोमोबाइल क्षेत्रले पछिल्ला वर्षहरूमा उल्लेखनीय फड्को मारेको उल्लेख गर्दै, यही उपलब्धिलाई उजागर गर्न अटो शो विशेष ढंगले आयोजना गर्न लागिएको जानकारी दिए।
‘नेपालले मोबिलिटीमा यति छिटो परिवर्तन गर्छ भन्ने अपेक्षा कसैले गरेको थिएन,’ अध्यक्ष चौधरीले भने, ‘हामीले उल्लेखनीय प्रगति गरेका छौं र यस वर्षको अटो शोमा त्यसै प्रगतिलाई प्रविधि, संस्कृति र अटोमोबाइलको नवीन स्वरूपमा प्रस्तुत गर्नेछौं।’
उनका अनुसार यस वर्षको शोमा मोबिलिटीको वर्तमान अवस्था र भविष्यको सम्भावनालाई दर्शाउने कार्यक्रम तय गरिएको छ। नाडामार्फत अटो क्षेत्रको वास्तविक ओजन देखाउने लक्ष्य लिएको बताउँदै उनले विगतका तुलनामा यो संस्करण आमूल परिवर्तनसहित आयोजना हुने र नयाँ प्रविधिको प्रयोग प्रत्यक्ष अनुभव गर्न पाइने उल्लेख गरे।
नाडा अटो शो नेपाली अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनी मानिन्छ, जहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सवारीसाधन, प्रविधि र सेवा एकै स्थानमा अवलोकन गर्न सकिनेछ।