यस वर्षको नाडा अटो शो भदौ ३ देखि, मुख्य आकर्षण के–के छन्?

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले ‘नाडा अटो शो २०२५’ भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ। ‘गो फर मोर’ भन्ने नारासाथ आयोजना हुने यो शोमा नवीनतम प्रविधि, दिगोपन, र स्मार्ट मोबिलिटीका झलक प्रस्तुत गरिनेछ।

शोको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गर्ने तय भएको छ। नाडाका अनुसार यस पटकको अटो शोमा युनिट्री रोबोट्स र दीपल ईभीटिओएल यूएभीजस्ता भविष्य उन्मुख प्रविधिहरू विशेष आकर्षणका रूपमा रहनेछन्। शोमा १९ वटा चारपांग्रे ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारी, ४ वटा दुईपांग्रे ब्रान्डसहित ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण, र वित्तीय सेवा प्रदायक कम्पनीहरू गरी ३५ स्टलसहित १२५ भन्दा बढी प्रदर्शक सहभागी हुनेछन्।

करीब ३ लाख वर्गफुट क्षेत्रफलमा फैलिने यो अटो शोमा १ लाखभन्दा बढी दर्शकको सहभागिता रहने अपेक्षा गरिएको छ, जसले यसलाई नेपालकै अहिलेसम्मकै सबैभन्दा ठूलो अटो शो बनाउनेछ। कार्यक्रमका विशेष आकर्षणमा विन्टेज मोटर शो, मेड इन नेपाल प्याभिलियन, इन्टरनेसनल बिजनेस प्याभिलियन, ईभी तथा स्मार्ट मोबिलिटी सेमिनार, कार्यशाला र अन्तरक्रियात्मक सत्रहरू रहेका छन्।

शोको व्यवस्थापन सुदृढ बनाउन अग्रिम टिकट प्रणाली, ट्राफिक सूचना डेस्क, स्वास्थ्य सहायता, सुरक्षा निगरानी, आगो नियन्त्रण, र मिडिया डेस्क जस्ता पूर्वाधार तयार गरिएको छ। यस संस्करणमा एमएडब्ल्यु वृद्धी टाइटल स्पोन्सर, शिखर इन्स्योरेन्स को-स्पोन्सर, क्याम्पा कोला पावर्ड बाइ, यांगो मोबिलिटी पार्टनर र खल्ती बाइ आईएमई एक्सक्लुसिभ टिकटिङ पार्टनर रहनेछन्। अग्रिम टिकटमा २० प्रतिशत क्यासब्याक सुविधा दिइनेछ भने नेपाल ल्युब तेलले १२ जना भाग्यशाली विजेतालाई एक वर्षको लागि निःशुल्क ल्युब्रिकेन्ट सेवा प्रदान गर्नेछ।

नाडा अध्यक्ष करण चौधरीका अनुसार विगतका १६ संस्करणको सफलता, अग्रणी ब्रान्डहरूको सहभागिता र दर्शकको विश्वासले नाडा अटो शोलाई नेपालको अटो उद्योगको महत्वपूर्ण मञ्च बनाएको छ।