काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडले साउन २६ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्न लागेको छ। यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरिएको आईपीओ बाँडफाँट गरेपछि कम्पनीले दोस्रो चरणमा आम नागरिकका लागि शेयर सार्वजनिक गर्न लागेको हो।
कम्पनीले ३८ करोड ५८ लाख २४ हजार रुपैयाँ जारी पूँजीको ४८.९९९८ प्रतिशत अर्थात १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्कासनको अनुमति पाएको थियो। यसमध्ये ३ लाख ८५ हजार ८२४ कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि र १ लाख ५० हजार ४७१ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन भइसकेको छ।
अब सर्वसाधारणका लागि कम्पनीले १३ लाख ५४ हजार २३५ कित्ता शेयर निष्कासन गर्न लागेको छ। जसमध्ये ३० हजार ९५ कित्ता कर्मचारीका लागि र ७५ हजार २३६ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी १२ लाख ४८ हजार ९०४ कित्ता शेयर सर्वसाधारणका लागि खुला हुनेछ।
यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओ साउन २९ गते छिटोमा र भदौ ९ गते ढिलोमा बन्द हुनेछ। आईपीओ निष्कासनका लागि गरिएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग सिंगल बी प्लस’ प्रदान गरेको छ, जसले औषत जोखिम रहेको संकेत गर्दछ।
माबिलुङ्ग इनर्जीले सञ्चालन गरिरहेको ४.९५ मेगावाट क्षमताको माथिल्लो पिलुवाखोला–३ जलविद्युत आयोजनाको अनुमानित लागत १ अर्ब १३ करोड ६० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २२ करोड ९५ लाख रुपैयाँ रहेको छ। आयोजनाको विद्युत अनुमति अवधि अझै ३१ वर्ष बाँकी छ। कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ९.४३ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १७.०९ वर्ष रहेको छ।
यस आईपीओको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड हो। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखाबाट आवेदन दिन सक्नेछन्।