झापा इनर्जीको वैदेशिक रोजगारी समूहको आईपीओमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं । झापा इनर्जी लिमिटेडको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला गरिएको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज साउन १८ गते अन्तिम दिन हो। कम्पनीले साउन १४ गतेदेखि आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री खुला गरेको हो।

श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपालीहरूका लागि कम्पनीले कुल ५७ हजार २९ कित्ता सेयर निष्काशन गरेको छ। उनीहरूले न्युनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

कम्पनीले झापा जिल्लाको शिवसताक्षी नगरपालिका–४ का आयोजना प्रभावित स्थानीयवासीलाई पनि आईपीओ निष्काशन गरेको छ। स्थानीयका लागि कुल ३ लाख ८० हजार १ सय ९० कित्ता सेयर छुट्याइएको छ। यस समूहका लगानीकर्ताहरूले न्युनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्मको आवेदन दिन सक्ने छन्। आवेदन दिने अन्तिम मिति साउन २८ गते तोकिएको छ भने सो अवधिमा आवश्यक संख्या नपुगेमा भदौ १२ गतेसम्म समय थपिनेछ।

स्थानीय तथा वैदेशिक रोजगारी समूहका लागि सेयर निष्काशनपछि कम्पनीले सर्वसाधारणका लागि आईपीओ ल्याउने तयारी गरिरहेको छ। हिमालयन क्यापिटल बिक्री प्रबन्धकको रूपमा रहेको छ।


धितोपत्र बोर्डले झापा इनर्जीलाई असार ३१ गते आईपीओ निष्काशनको अनुमति दिएको थियो। कम्पनीले कुल ९ लाख ५० हजार ४ सय ७५ कित्ता सेयर निष्काशन गर्दैछ, जसको कुल मूल्य ९ करोड ५० लाख ४७ हजार ५ सय रुपैयाँ बराबर हुनेछ। झापा जिल्लामा कम्पनीले निर्माण गरेको १० मेगावाट क्षमताको सौर्य परियोजनाबाट २०८० माघ १० गतेदेखि विद्युत उत्पादन सुरु भइसकेको छ।