काठमाडौं । सन् २०२५ को जुलाई महिनामा नेपालले ७० हजार १ सय ९३ जना अन्तर्राष्ट्रिय पर्यटकलाई स्वागत गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८.७ प्रतिशतले वृद्धि भएको हो। नेपाल पर्यटन बोर्डका अनुसार, महामारीअघि सन् २०१९ को जुलाईको तुलनामा यो आगमन ९९ प्रतिशत रिकभरी हो, जसले नेपालमा पर्यटन क्षेत्र कोभिडपछिको लयमा फर्किएको संकेत गर्दछ।
सन् २०२५ को जनवरीदेखि जुलाईसम्मको पहिलो सात महिनामा नेपालमा ६ लाख ४७ हजार ८ सय ८२ जना पर्यटक भित्रिएका छन्, जुन महामारीपछि हालसम्मकै उच्च आगमन हो। जुलाईमा भारतबाट सबैभन्दा धेरै २७ हजार १ सय ५२ जना (३८.७%) पर्यटक आएका छन् भने त्यसपछि चीन, अमेरिका, बंगलादेश र बेलायतका पर्यटकहरूको उल्लेखनीय उपस्थिति देखिएको छ।
क्षेत्रगत रूपमा दक्षिण एशियाबाट ४८.१ प्रतिशत, अन्य एशियाली मुलुकबाट १८.६ प्रतिशत, युरोपबाट १३.२ प्रतिशत, अमेरिका र ओसिनिया क्षेत्रबाट क्रमशः ११.१ र २.६ प्रतिशत पर्यटक आएका छन्। पर्यटन बोर्डका प्रमुख दीपकराज जोशीका अनुसार, भिजिट नेपाल दशकअन्तर्गतका प्रवर्द्धनात्मक कार्यक्रमहरू, निजी क्षेत्रको लगानी र विविध पर्यटकीय गन्तव्यहरूले नेपालप्रति पर्यटकको आकर्षण वृद्धि गरिरहेको छ। यी पहलकदमीहरूले पर्यटन पुनरुत्थानमा महत्वपूर्ण भूमिका खेलेका छन्।