काठमाडौं । सुदूरपश्चिम प्रदेशको बझाङमा निर्माण हुने २१६ मेगावाट क्षमताको माथिल्लो सेती जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। कुमारी बैंक लिमिटेडको नेतृत्वमा तथा एनएमबी बैंकको सह-नेतृत्वमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको सहवित्तीय सहभागितामा यो कार्य सम्पन्न भएको हो। कुमारी बैंक र प्रवर्द्धक समृद्धि इनर्जी लिमिटेडबीच काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्झौतामा हस्ताक्षर गरिएको छ। आयोजनाको लागत करिब ४१ अर्ब ६० करोड रुपैयाँ रहनेछ, जसमा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी हुनेछ।
उक्त आयोजना अर्ध जलाशययुक्त नदी प्रवाह प्रणालीमा आधारित छ, जसमा ४.५ घण्टाको पिकिङ्ग क्षमता रहनेछ। यसको Design Discharge ३४.१ घन मिटर प्रति सेकेन्ड, Net Head ७३५.६ मिटर हुनेछ। वार्षिक १,२२९.६ GWh विद्युत उत्पादनको लक्ष्य राखिएको आयोजनाबाट वर्षायाममा ८३४.४९ GWh र सुखायाममा ३९५.११ GWh विद्युत उत्पादन हुनेछ। परियोजनाबाट उत्पादित विद्युत ३० किलोमिटर लामो २२० के.भी. डबल सर्किट प्रशारण लाइनमार्फत प्रस्तावित ४०० के.भी. बझाङ सब-स्टेशन हुँदै राष्ट्रिय ग्रिडमा जोडिनेछ।
सन् २०३१ जुलाई १५ (२०८८ असार ३१) भित्र व्यावसायिक उत्पादन थाल्ने लक्ष्य राखिएको यस आयोजनामा समृद्धि इनर्जी लिमिटेडले विभिन्न संस्थागत र व्यक्तिगत लगानीकर्ताहरूबाट स्वपुँजी संकलन गरिरहेको छ। प्रमुख लगानीकर्तामा Siuri Nyadi Power, Ngadi Group Power, Sagarmatha Jalbidhyut Company, Yesh Holding लगायत कम्पनीहरू छन्। आयोजना सम्पन्न भएपछि सुदूरपश्चिम प्रदेशको ऊर्जा आत्मनिर्भरता, पूर्वाधार विस्तार, रोजगारी सिर्जना र समग्र आर्थिक समृद्धिमा ठूलाे योगदान पुग्ने अपेक्षा गरिएको छ।