काठमाडौं । राहदानी विभागले ६४ लाख नयाँ राहदानी छपाइका लागि जर्मनीका दुई कम्पनीलाई सर्टलिस्ट गरेको छ। विभागले प्याकेज १ अन्तर्गत प्रिइनरोलमेन्ट, इनरोलमेन्ट डाटा म्यानेजमेन्ट र डेलिभरी सिस्टमको जिम्मा १ अर्ब ५५ करोड रुपैयाँमा म्युहलबाउर आइडी सर्भिसलाई दिएको छ भने प्याकेज २ अन्तर्गत राहदानी छपाइको ठेक्का ६ अर्ब ११ करोड रुपैयाँमा भेरिडास कम्पनीलाई दिएको हो। विभागका अनुसार प्याकेज २ सम्बन्धी सम्झौता हालै सम्पन्न भइसकेको छ भने अर्को प्याकेजको सम्झौता पनि चाँडै हुने तयारीमा छ।
हाल राहदानी छपाइको काम गरिरहेको फ्रेन्च कम्पनी आइडिमियाले सन् २०२० मा २० लाख राहदानी छपाउने ठेक्का पाएपछि म्याद थप गर्दै ५० लाखभन्दा बढी राहदानी छापिसकेको छ। तर यसपटक उसलाई नयाँ ठेक्का नदिई जर्मनीका कम्पनीहरूसँग सम्झौता गर्न लागिएपछि विवाद उत्पन्न भएको हो। विभागका प्रवक्ता शत्रुध्वन पोखरेलका अनुसार, राहदानी छपाइको सम्पूर्ण सामग्रीको व्यवस्था सम्बन्धित कम्पनीले नै गर्ने व्यवस्था गरिएको छ।