दरमखोला हाइड्रोको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आज साउन १५ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन खुला गरेको छ। कम्पनीले कुल २४ लाख २३ हजार १ सय ८५ कित्ता साधारण शेयर सार्वजनिक निष्कासनमार्फत बिक्रीमा ल्याएको हो। यस आईपीओमा साउन १९ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

उक्त शेयर निष्कासनका लागि लक्ष्मी सनराइज क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रूपमा नियुक्त गरिएको छ। कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयबासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरूलाई सेयर निष्कासन गरिसकेको छ। दरमखोला हाइड्रो इनर्जी लिमिटेडले बागलुङ जिल्लाको गलकोट नगरपालिका–११ स्थित क्षेत्रमा ९.६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ।