काठमाडौँ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरणअनुसार कम्पनीले यस अवधिमा ९ करोड १७ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिमा २० लाख ७ हजार रुपैयाँ घाटामा रहेको कम्पनीले यस पटक उल्लेखनीय सुधार गरेको छ।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ५८.५० प्रतिशतले वृद्धि भएर ३५ करोड ३० लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ५२.७७ प्रतिशतले बढेर ४० करोड ६६ लाख रुपैयाँ पुगेको छ। यसबाट कम्पनीले १३ करोड ११ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ।
लाभांश क्षमता पनि उल्लेख्य रहेको कम्पनीको वितरणयोग्य मुनाफा ६ करोड ३१ लाख पुगेको छ। वितरणयोग्य प्रति शेयर रकम १९.७६ रुपैयाँ छ, जसअनुसार लाभांश दिनसक्ने क्षमता १९.७६ प्रतिशत देखिएको छ।
कम्पनीको चुक्ता पूँजी ३१ करोड ९८ लाख र सञ्चित कोष (रिजर्भ) ११ करोड ९२ लाख रुपैयाँ रहेको छ। प्रति शेयर आम्दानी (EPS) २८.७० रुपैयाँ पुगेको छ भने प्रति शेयर नेटवर्थ १४८.१६ रुपैयाँ छ। सो अवधिमा कम्पनीको खराब कर्जा अनुपात ५.३३ प्रतिशत रहेको छ।