काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा लिएर तोकिएको प्रयोजनबाहेक अन्यत्र प्रयोग नगर्न सर्वसाधारण र संस्थाहरूलाई चेतावनी दिएको छ। राष्ट्र बैंक अन्तर्गतको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले मंगलवार सूचना जारी गर्दै कर्जाको सदुपयोग गर्नुपर्ने र दुरुपयोग गरेमा कानुनी कारबाहीमा पर्ने उल्लेख गरेको हो।
सूचनामा भनिएको छ, “बैंक तथा वित्तीय संस्थाबाट लिइएको कर्जा स्वीकृत प्रयोजनअनुसार मात्र प्रयोग गर्नु अनिवार्य छ। अन्य प्रयोजनमा प्रयोग गर्नु वा गराउनु बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम अपराध मानिन्छ।” राष्ट्र बैंकका अनुसार, कर्जाको दुरुपयोग गर्नेलाई ऐनको दफा १५ को उपदफा २ अनुसार विगो भराई, जरिवाना र कैद सजाय हुन सक्छ।
नागरिकलाई कर्जा सम्बन्धी कानुनी पक्षबारे सचेत गराउने उद्देश्यले जारी गरिएको सूचनामा भनिएको छ, “आफूले लिएको कर्जाको सदुपयोग गरौं, बैंकिङ कसुरबाट जोगिऔं।” यससँगै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी गुनासोका लागि अनलाइन पोर्टलको पनि व्यवस्था गरेको छ, जसबाट उजुरी दर्ता गर्न सकिने छ।