हिमालयन बैंकको एफपीओ बाँडफाँट सम्पन्न

हिमालयन बैंक लिमिटेडको एफपीओ (Follow-on Public Offering) बाँडफाँट सम्पन्न भएको छ। बैंकको एफपीओ आज बिहान ९ बजे कमलादीस्थित केन्द्रीय कार्यालयमा बाँडफाँट गरिएको हो।

बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५७ रुपैयाँ प्रिमियम थप गरी कुल १५७ रुपैयाँमा एफपीओ निष्काशन गरेको थियो। गत असार ३१ गतेदेखि साउन ४ गतेसम्म ९२ लाख ५० हजार ४६९ कित्ता शेयरका लागि निष्काशन गरिएको उक्त एफपीओमा १८ लाख २५ हजार ९२२ जनाले आवेदन दिएका थिए।

जम्मा ३ करोड ८५ लाख ९१ हजार १६० कित्ताका लागि आवेदन परेपनि १७ लाख ४ हजार २७३ जनाको आवेदन मात्र वैध ठहर भएको छ। अत्यधिक आवेदन परेकाले गोलाप्रथा प्रणालीबाट बाँडफाँट गरिएको हो।

गोलाप्रथाअनुसार ९ लाख २५ हजार ४६ जना लगानीकर्ताले १० कित्ताका दरले शेयर पाएका छन्। बाँकी रहेका ९ कित्ता शेयर २० कित्ताका लागि आवेदन दिएका लगानीकर्तामध्ये ९ जनालाई थप एक कित्ता बाँडफाँट गरिएको छ, जसअनुसार ती ९ जनाले ११ कित्ताका दरले शेयर प्राप्त गरेका छन्।