आज हुँदैछ हिमालयन बैंकको एफपीओ बाँडफाँड

काठमाडौं । हिमालयन बैंक लिमिटेडले निष्काशन गरेको एफपीओ (फर्लाथर पब्लिक अफरिङ) आज मङ्गलबार बाँडफाँड हुँदैछ। बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलले आज साउन १३ गते बिहान ९ बजे एफपीओ बाँडफाँड गर्न लागेको हो।

बैंकले असार ३२ गतेदेखि ९२ लाख ५० हजार ४ सय ६९ कित्ता शेयर सार्वजनिक निष्काशन गरेको थियो, जसको कुल मूल्य १ अर्ब ४५ करोड २३ लाख रुपैयाँभन्दा बढी रहेको छ। उक्त एफपीओ प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५७ रुपैयाँ प्रिमियम थप गरी १५७ रुपैयाँमा निष्काशन गरिएको हो।

बैंकको एफपीओमा १७ लाखभन्दा बढी आवेदकले आवेदन दिएका छन्, जुन मागभन्दा चार गुणा बढी हो। अत्यधिक आवेदन परेकाले बाँडफाँड गोलाप्रथाबाट हुने भएको छ। गोलाप्रथाबाट ९ लाख २५ हजार ४६ जना आवेदकले मात्र शेयर प्राप्त गर्नेछन्, जसमध्ये ९ जनाले ११ कित्ता, बाँकीले १० कित्ता शेयर प्राप्त गर्नेछन्।

यसअघि, बैंकले एफपीओ प्रति कित्ता १६९ रुपैयाँमा ल्याउने प्रस्ताव गरेको थियो। तर, नेपाल धितोपत्र बोर्डले त्यसमा १२ रुपैयाँ घटाएर १५७ रुपैयाँमा अनुमति दिएको हो।