काठमाडौँ । श्रावण शुक्ल पञ्चमीका दिन पर्ने नाग पञ्चमी पर्व आज देशभर परम्परागत रूपमा नागको पूजा गरी मनाइँदै छ। वैदिक परम्पराअनुसार आजको दिन नागको पूजा गरी घरको मूलढोकामा नागको तस्वीर टाँस्ने चलन छ, जसबाट वर्षभर सर्प, बिच्छी, चट्याङ, मेघ र अग्निको भयबाट रक्षा हुने धार्मिक विश्वास रहिआएको छ।
नागलाई सर्पको राजा मान्ने वैदिक मान्यता छ। विशेषगरी अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ कूल नागको पूजा ब्राह्मण पुरोहितमार्फत गरिन्छ। पूजा गरेर टाँसिएको नाग चित्रपछि खेतबारीमा खनजोत नगर्ने, र घिस्रने जीवलाई मार्न नहुने परम्परा पनि आजकै दिनसँग जोडिएको छ।
बराहपुराणअनुसार ब्रह्मा र नागराजबीच संवाद भएको दिन भएकाले पनि आजको दिनलाई विशेष धार्मिक महत्व दिइएको हो। वैदिक सनातन परम्पराअनुसार नागलाई विष्णु र शिवका रूपमा मान्ने चलन रहिआएको छ।
काठमाडौंको नाग पोखरी, टौदह, भक्तपुरको सिद्ध पोखरी लगायत देशभरका नागदह, कुण्ड, र नाग स्थानहरूमा विशेष पूजाआजा गर्दै नागलाई गाईको दूध, दुबो, अक्षता, खीर र रोटी आदिको प्रसाद चढाइन्छ।
वैज्ञानिक दृष्टिकोणले पनि नाग, सर्पजस्ता जीवले विषालु पदार्थको शोषण गरी वातावरणमा सन्तुलन कायम राख्ने पुष्टि भएपछि ऋषिमुनिहरूले नाग पूजा गर्ने परम्परा बसालेको मानिन्छ। नाग पञ्चमीसँगै नेपाली समाजमा चाडपर्वको मौसमको आरम्भ हुने विश्वास गरिन्छ।