काठमाडौं । नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनाले पछिल्लो समय मुलुकको अर्थतन्त्रका अधिकांश सूचकहरूमा सुधार देखिएको बताएकी छन्।
इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) द्वारा आयोजित ‘फ्युचर बैंकिङ’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले डिजिटल कारोबारले बैंकिङ प्रणाली सहज बनेको भए पनि वित्तीय अनुशासन र जोखिम व्यवस्थापनमा अझै गम्भीर ध्यान दिनुपर्ने आवश्यकतालाई औंल्याइन्। “मौद्रिक नीति र बजेट दुवैले बैंकिङ क्षेत्रलाई प्राथमिकता दिएका छन्। कारोबार गर्न सजिलो भएको छ, तर त्यससँगै खर्च पनि बढ्दो छ,” उनले भनिन्।
उनका अनुसार डिजिटल बैंकिङको विस्तारले बैंकिङ सेवा सरल र सुलभ बने पनि त्यसबाट उत्पन्न जोखिमसमेत बढिरहेका छन्। “पहिले बैंकमा समस्या देखिँदा घण्टौं लाइन लाग्थ्यो, अहिले मोबाइल बैंकिङले सहज बनाएको छ। तर, जोखिम व्यवस्थापन चुनौतीपूर्ण बनेको छ,” उनले भनिन्। उनले हाल बैंकहरूमा निष्क्रिय कर्जाको मात्रा वृद्धि, गैरबैंकिङ सम्पत्तिको विस्तार, र कालोसूचीमा पर्ने ऋणीहरूको संख्या बढ्दो रहेकोतर्फसमेत ध्यानाकर्षण गराएकी छन्।