एमसीसी कार्यक्रमलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय

काठमाडौं । अमेरिकी सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत नेपालमा सञ्चालित कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ । गत साता गरिएको वैदेशिक सहायता समीक्षापछि अमेरिकी सरकारले यस्तो निर्णय गरेको हो ।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार, “अमेरिकी सरकारले गरेको वैदेशिक सहायता समीक्षाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल सम्झौताको कार्यान्वयनलाई निरन्तरता दिन सिफारिस गरेको छ र हामीले नेपाल सरकारलाई यसबारे औपचारिक जानकारी गराएका छौं,” भनिएको छ ।

५० करोड अमेरिकी डलर बराबरको एमसीसी सहयोग तथा नेपाल सरकारको थप १९.७ करोड डलर योगदानसहितको परियोजनाले विद्युत् प्रसारण पूर्वाधारको निर्माण र सडक सञ्जाल सुधारमार्फत समृद्धि र क्षेत्रीय ऊर्जा व्यापारमा योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

यस निर्णयसँगै नेपालमा एमसीसी सम्झौताको प्रभावकारी कार्यान्वयनको बाटो खुलेको छ ।