काठमाडौँ । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब रुपैयाँ रकम बैंक तथा वित्तीय संस्थामा एक वर्षका लागि मुद्दती निक्षेपका रूपमा राख्ने निर्णय गरेको छ।
आइतबार राष्ट्र बैंकले उक्त रकम निक्षेपमा राख्ने प्रक्रिया सुरु गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई प्रस्ताव माग गरेको हो। इच्छुक संस्थाहरूले आफैंले लिन चाहेको निक्षेप रकम र प्रस्तावित ब्याजदर उल्लेख गरेर मंगलबारसम्म राष्ट्र बैंकमा आवेदन दिनुपर्नेछ।
उक्त १ अर्बमध्ये ८० करोड रुपैयाँ वाणिज्य बैंकहरूमा, १५ करोड राष्ट्रियस्तरका विकास बैंकहरूमा र ५ करोड राष्ट्रियस्तरका फाइनान्स कम्पनीहरूमा राखिनेछ। राष्ट्र बैंकले त्रैमासिक रूपमा ब्याज भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको छ।
यस निक्षेपमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरूका लागि राष्ट्र बैंकले केही सर्तहरू तोकेको छ। जसअनुसार सम्बन्धित संस्था कम्तीमा दुई वर्षदेखि सञ्चालनमा रहेको हुनुपर्नेछ। साथै, न्यूनतम पूँजीकोषको सीमा पुगेको, कुल खराब कर्जा ८ प्रतिशतभन्दा कम र खुद खराब कर्जा ३ प्रतिशतभन्दा कम हुनुपर्ने शर्तहरू लागू हुनेछन्।