सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमले ८% नगद लाभांश घोषणा

काठमाडौँ । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित खुलामुखी सामुहिक लगानी योजना “सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम” ले आर्थिक वर्ष २०८१/०८२ का लागि ८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। सिद्धार्थ बैंक कोष प्रबर्द्धक तथा सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको यस योजनाले २०८२ साउन ११ गते अपरान्ह ३:१५ बजे सम्पन्न सञ्चालक समितिको १९१ औं बैठकमार्फत लाभांश प्रस्ताव पारित गरेको हो।

साउन ११ गतेलाई बुक क्लोज मिति तोकिएको छ, जसअनुसार सो दिनसम्म इकाईधनी रहेका लगानीकर्ताहरूले लाभांश प्राप्त गर्नेछन्। खुलामुखी योजनाको विशेषता अनुसार, इकाईधनीहरूले प्राप्त लाभांश रकमलाई पुनः लगानी योजना (Dividend Re-investment Plan) मार्फत थप इकाईहरू खरिद गर्न सक्ने सुविधा पनि प्राप्त गर्नेछन्। योग्य इकाईधनीहरूको हितग्राही खातामा (DEMAT Account) लाभांश अनुसारको इकाई पठाइनेछ भने अन्यको हकमा बैंक खातामा नगद लाभांश जम्मा गरिने क्यापिटलले जनाएको छ। सञ्चालनमा आएपछि “सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम” ले यो पहिलोपटक लाभांश वितरण गर्न लागेको हो।