काठमाडौँ । नेपाल–चीनबीचको प्रमुख उत्तरी नाका रसुवागढीमा अवस्थित मितेरी पुलको पुनर्निर्माण कार्य सुरु भएको छ। गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले क्षति पुर्याएको पुल पुनर्निर्माण चीनले थालनी गरेको हो।
१० मिटर चौडाइ र १०० मिटर लम्बाइको पुल बाढीले बगाएपछि नेपाल–चीनबीचको आवतजावत र व्यापारिक कारोबार अवरुद्ध भएको थियो। प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार पहिलो चरणमा चीनले बेलीब्रिज निर्माण सुरु गरेको छ।
पक्की पुलभन्दा दुई मिटर पूर्वतर्फ बेलीब्रिज बनाइँदैछ ताकि पुरातात्विक संरचनामा असर नपरोस्। चिनियाँ पक्षले आवश्यक उपकरण रसुवागढी ल्याइसकेको छ भने चार स्काभेटरको सहायताले भुइँ सतह मिलाउने काम अघि बढाइएको छ।
चीनले आगामी भदौ ३० गतेभित्र बेलीब्रिज निर्माण सम्पन्न गर्ने जानकारी दिएको छ। साथै, रसुवागढीमा निर्माणाधीन एकीकृत भन्सार भवनको काम भने हालका लागि रोकिएको जनाइएको छ।