नेपाल भ्रमणमा रहेका आइओई महासचिव सान्तोषद्वारा महासंघको भूमिकाको प्रशंसा, सहयोगमा प्रतिबद्धता

काठमाडौं । नेपाल भ्रमणमा रहेका अन्तर्राष्ट्रिय रोजगारदाताहरुको संगठन (आइओई) का महासचिव रोबर्टो सुवारेज सान्तोषले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) द्वारा औद्योगिक सम्बन्ध सुधारमा निभाइएको भूमिकाको प्रशंसा गरेका छन्।

महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको निमन्त्रणमा नेपाल आएका महासचिव सान्तोषले हालै सहमतिमा भएको न्यूनतम ज्याला निर्धारण, सामाजिक सुरक्षा तथा औपचारिकीकरणजस्ता विषयमा महासंघको योगदान अनुकरणीय रहेको बताएका हुन्। साथै, सरकारले र ट्रेड यूनियनहरुले पनि रचनात्मक भूमिका खेलेको उल्लेख गरे।

सान्तोषको नेपाल भ्रमण २०८२ साउन ८ देखि १० गते (२४–२६ जुलाई २०२५) सम्म हुने तय भएको छ। यसअघि जेनेभामा सम्पन्न अन्तर्राष्ट्रिय श्रम सम्मेलनका क्रममा महासंघका अध्यक्ष ढकाल र महासचिव सान्तोषबीचको भेटमा नेपाल भ्रमणको निम्तो दिइएको थियो।

महासंघमा भएको भेटवार्तामा अध्यक्ष ढकालले नेपाल सन् २०२६ मा अतिकम विकसित राष्ट्र (एलडीसी) बाट स्तरोन्नति हुने प्रक्रिया, त्यसले व्यापार र प्रतिस्पर्धामा पार्ने असर तथा आइओईसँगको सहकार्यको आवश्यकता विषयमा प्रकाश पारे। उनले भने, “एलडीसीबाट स्तरोन्नतिपछि नेपालका लागि अवसर र चुनौती दुवै छन्। यस्तो अवस्थामा आइओईको अनुभव र सहकार्य महत्वपूर्ण हुनेछ।”


महासचिव सान्तोषले स्तरोन्नतिपछि नेपालका उद्यमीहरूलाई अन्तर्राष्ट्रिय बजारमा जोड्न र आवश्यक सहजीकरण गर्न आइओई सकारात्मक रूपमा साथ दिन तयार रहेको बताए।


भेटवार्तामा महासंघका उपाध्यक्ष हेमराज ढकाल, उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष भरतराज आचार्य, केन्द्रीय सदस्य बाबुकाजी कार्की, अरनिको राजभण्डारी लगायतले औद्योगिक वातावरण निर्माण तथा श्रमिक–नियोक्ता सम्बन्ध सुदृढीकरणका बारेमा धारणा राखेका थिए।


सन् १९२० मा स्थापना भई जेनेभामा मुख्यालय रहेको आइओई विश्वकै सबैभन्दा ठूलो निजी क्षेत्रको सञ्जाल हो, जसले १४० भन्दा बढी देशका १५० भन्दा धेरै रोजगारदाता संगठनलाई प्रतिनिधित्व गर्छ। नेपाल उद्योग वाणिज्य महासंघ आइओईको सदस्य संस्था हो।