हिमालयन बैंकको एफपीओ बाँडफाँड आगामी साता

काठमाडौं । हिमालयन बैंक लिमिटेडले निष्काशन गरेको एफपीओ आगामी मङ्गलबार, साउन १३ गते बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलका अनुसार आज (साउन ११ गते) प्रि–अलोटमेन्ट सम्पन्न भएको छ भने अब २ दिनपछि बाँडफाँड प्रक्रिया हुनेछ।

बैंकले असार ३२ गतेदेखि कुल १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरको ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ सार्वजनिक निष्काशनमा ल्याएको थियो। प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५७ रुपैयाँ प्रिमियम थप गरेर १५७ रुपैयाँमा एफपीओ जारी गरिएको हो।

एफपीओमा मागभन्दा ४ गुणा बढी आवेदन परेको छ। कूल १७ लाखभन्दा बढी आवेदकले आवेदन दिएका छन्, तर ९ लाख २५ हजार ४६ जनामात्रैले शेयर प्राप्त गर्नेछन्। तीमध्ये ९ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले शेयर पाउने प्रारम्भिक गणनाबाट देखिएको छ।

यसअघि बैंकले प्रति कित्ता १६९ रुपैयाँमा एफपीओ ल्याउने प्रस्ताव गरे पनि नेपाल धितोपत्र बोर्डले मूल्य घटाएर प्रति कित्ता १५७ रुपैयाँमा निष्काशनको अनुमति दिएको थियो। बोर्डले असार २२ गते एफपीओ निष्काशनको स्वीकृति दिएको हो।