काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०८१/८२ मा नेपालको निर्यातले ऐतिहासिक उपलब्धि हासिल गरेको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले चालु आवमा नेपालले वस्तु तथा सेवातर्फ दुई खर्ब ७७ अर्ब तीन करोड दुई लाख रुपैयाँ बराबरको निर्यात गर्न सफल भएको जानकारी दिएका हुन्।
उनका अनुसार आफू प्रधानमन्त्री हुनुअघि अघिल्लो वर्ष नेपालको कुल निर्यात एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँमा सीमित थियो। उनले भने, “हामी सरकारमा आउनुभन्दा अघि निर्यातको यो अवस्था थियो। अहिले निर्यातमा ८१.८० प्रतिशतले वृद्धि भएको छ, जुन इतिहासमै पहिलोपटक हो।”
प्रधानमन्त्री ओलीले यो उपलब्धिलाई सरकारको नीतिगत सफलतासँग जोड्दै आगामी दिनमा निर्यातमैत्री वातावरण अझ विस्तार गरिने संकेत पनि दिएका छन्।