शेयर किन्न बैंक खातामा पैसा हुनैपर्ने व्यवस्था ल्याउने तयारी, बोर्डको नयाँ नीति सार्वजनिक

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आगामी दिनमा लगानीकर्ताको बैंक खाता ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) सँग लिङ्क गराउने तयारी गरेको छ। यस व्यवस्थापछि लगानीकर्ताले शेयर खरिद गर्नुअघि आफ्नो बैंक खातामा आवश्यक रकम हुनुपर्नेछ।

मंगलबार सार्वजनिक गरिएको "धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रमहरू, आर्थिक वर्ष २०८२/८३" मा सो व्यवस्था समेटिएको हो। बोर्डको नीतिअनुसार दोस्रो बजारबाट धितोपत्र खरिद गर्दा खरिदकर्ताको बैंक खातामा रकम भए मात्र कारोबार प्रक्रिया अघि बढ्नेछ।

हाल ब्रोकरमार्फत सीमित अवधिसम्म उधारोमा कारोबार गर्न पाइने प्रणाली छ। तर, नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि यस्तो सुविधा रहला कि नरहला भन्ने विषय अहिले नै स्पष्ट छैन। यसले लगानीकर्ताको व्यवहार र कारोबार प्रणालीमा परिवर्तन ल्याउने अनुमान गर्न सकिन्छ।

बोर्डले उक्त नीति मार्फत शेयर कारोबार प्रणालीलाई थप पारदर्शी, सुरक्षित र जिम्मेवार बनाउने लक्ष्य लिएको जनाएको छ।