सुन र चाँदीको मूल्यमा  वृद्धि , कतिमा हुँदैछ कारोबार ?

बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला २,१०० रुपैयाँले बढेर १ लाख ९७ हजार ६०० रुपैयाँमा पुगेको छ।

मंगलबार सोही सुन प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला छ दिनदेखि सुनको मूल्य लगातार बढ्दो क्रममा रहेको महासंघले जनाएको छ।

यता, चाँदीको मूल्य पनि लगातार नयाँ रेकर्ड कायम गर्दै बढिरहेको छ। बुधबारको बजारमा चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेर २,३५० रुपैयाँ पुगेको छ। मंगलबार चाँदी २,३२० रुपैयाँमा कारोबार भएको थियो।

विशेषगरी अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार उकालो लागेको विश्लेषण गरिएको छ। चाँदीले पछिल्ला दिनहरूमा दैनिकजसो पुरानो रेकर्ड तोड्दै नयाँ उच्चता बनाउँदै आएको छ।