काठमाडौं। झापा इनर्जी लिमिटेडले साउन १४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूलाई लक्षित गर्दै साधारण शेयर (IPO) निष्काशन गर्ने भएको छ। कम्पनीले आफ्नो ३८ करोड १ लाख ९० हजार रुपैयाँको जारी पूँजीको १० प्रतिशत अर्थात् ३ करोड ८० लाख १९ हजार रुपैयाँ बराबरको शेयर स्थानीय बासिन्दाका लागि छुट्याएको हो। यो अनुसार प्रति शेयर १०० रुपैयाँ अंकित दरमा ३ लाख ८० हजार १९० कित्ता शेयर निष्काशन गरिनेछ।
तीमध्ये १ लाख ९० हजार ९५ कित्ता शेयर आयोजना प्रभावित क्षेत्र अर्थात् झापाको शिवसताक्षी नगरपालिका–४ भित्र सौर्य विद्युत आयोजना स्थल र त्यसबाट १०० मिटर भित्रका बासिन्दाहरूलाई दिनेछ। बाँकी १ लाख ९० हजार ९५ कित्ता शेयर सो क्षेत्र बाहेकका सोही वडाका अन्य बासिन्दालाई छुट्याइएको छ।
यस्तै, सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशत बराबरको रकम — ५७ लाख २ हजार ९०० रुपैयाँ अर्थात ५७ हजार २९ कित्ता शेयर — वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्काशन गरिनेछ। यसका लागि श्रम स्वीकृति प्राप्त गरी विदेशमा कार्यरत हुनु पर्नेछ।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। स्थानीय बासिन्दाका लागि आईपीओ निष्काशनको अन्तिम म्याद छिटोमा साउन २८ गते र ढिलोमा भदौ १२ गतेसम्म रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन बन्द म्याद छिटोमा साउन १८ गते र ढिलोमा साउन २८ गतेसम्म तोकिएको छ।
आईपीओ निष्काशनका लागि इक्रा नेपालले झापा इनर्जीलाई "इक्रा एनपी इस्यूअर रेटिङ्ग बी माइनस" रेटिङ दिएको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ। झापा इनर्जीले सञ्चालन गरेको १० मेगावाट क्षमताको सौर्य आयोजनाको अनुमानित लागत ८७ करोड ९० लाख रुपैयाँ रहेको छ। प्रति मेगावाट लागत ८ करोड ७९ लाख रुपैयाँ रहेको उक्त आयोजनाको विद्युत अनुमति अवधी अझै २२ वर्ष बाँकी छ।
इक्विटीका आधारमा लगानी फिर्ता हुने अवधि ९.५५ वर्ष र प्रोजेक्टको आधारमा ८.०६ वर्ष रहेको छ। डिस्काउन्ट गरेर हेर्दा क्रमशः १३.४६ र १५.६६ वर्षमा लगानी फिर्ता हुने अनुमान गरिएको छ। आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।
स्थानीय बासिन्दाले हिमालयन बैंकका दुधे, दमक, र सुरुङ्गा शाखा तथा आयोजना स्थलबाट आवेदन दिन सक्नेछन्। दरखास्त फाराम लिन २ रुपैयाँ शुल्क लाग्नेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूमार्फत आवेदन दिन सक्नेछन्।