नेपाल लाइफ इन्स्योरेन्सलाई उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड, जीवन बीमा क्षेत्रमा पहिलो पटक सिल्भर अवार्ड प्राप्त

काठमाडौं। स्थापनाको २५ औं वर्षमा प्रवेश गर्दै गरेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) बाट प्रदान गरिने ‘उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड, २०२४’ अन्तर्गत जीवन बीमा समूहमा सिल्भर अवार्ड प्राप्त गरेको छ। होटल र्‍याडिसनमा आयोजित कार्यक्रममा महालेखापरीक्षक तोयम रायाले नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाललाई संयुक्त रूपमा सम्मान प्रदान गरेका थिए।

कम्पनीले आर्थिक वर्ष २०८०/८१ को वार्षिक वित्तीय प्रतिवेदनमा देखाएको पारदर्शिता, मापदण्डअनुसारको खुलासा, सुशासन र जवाफदेहिताका मापदण्डलाई उच्च प्राथमिकतामा राख्दै उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै उक्त अवार्ड प्रदान गरिएको हो। जीवन बीमा समूहमा यस किसिमको अवार्ड जित्ने नेपाल लाइफ पहिलो कम्पनी बनेको छ, जसले कम्पनीको संस्थागत सुशासन र वित्तीय प्रतिबद्धतालाई थप प्रमाणित गरेको छ।

अवार्ड प्राप्त भएको अवसरमा प्रमुख कार्यकारी अधिकृत पराजुलीले यस उपलब्धिले गौरवको अनुभूति गराएको र आगामी दिनमा अझै प्रभावकारी कार्यसम्पादन गर्ने प्रेरणा मिलेको बताए। कम्पनीले हाल नेपाली जीवन बीमा बजारको करिब ३० प्रतिशत हिस्सा ओगटिरहेको छ। पराजुलीले कम्पनीका सञ्चालक समिति, बीमितहरू, अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकायलगायत सम्पूर्ण सरोकारवालाप्रति आभार प्रकट गरेका छन्।